कथा

व्यक्तित्व विकासका लागि अपनाउनु पर्ने १४ कुराहरु

सफलताको लागि व्यक्तित्व विकास अपरिहार्य तत्व हो । कामको सुरुवात गर्न, आफ्नो कामलाई व्यवसायिक बनाउन होस्, कसैको विश्वास जित्न होस् या त कुनै पनि कुरालाई मूर्त रुप दिन होस् मानिसको व्यक्तित्वले अहम भूमिका खेल्ने गर्छ । मानिसको व्यक्तित्वभित्र उसको बाहिरि आवरण, बोलीचाली, हाउभाउ देखि लिएर उसको सोंच, भावना, योजना लगायत ऊसंग सम्बन्धित हरेकजसो कुराहरु पर्ने गर्छन् । जसले आफ्नो व्यक्तित्वमा निखारता ल्याउन सक्छ, ऊ आत्मविश्वासका साथ उभिन सक्छ ।

व्यक्तित्व विकासका लागि अपनाउन सकिने साधारण तरिकाहरु :

१. बिहान छिटो उठ्ने गर्नुहोस् । बिहानमा छिटो उठ्दा दिनभरी तपाईंको मुड ताजा रहन्छ र त्यसले बाहिरि सुन्दरतामा समेत निखारता ल्याइदिन्छ । बिहानमा छिटो उठ्ने गर्नाले तपाईंले बिहान शारीरिक अभ्यास र दिनभरिको काम व्यवस्थित रुपले गर्न सक्नुहुन्छ भने तपाईंलाई आराम र व्यक्तिगत हेरचाहको लागि समेत प्रशस्त समय पुग्छ। तपाईं दिनभर स्फूर्त रहन सक्नुहुन्छ ।

२. आफ्ना राम्रा र नराम्रा बानीको सूची बनाउनुहोस् । त्यमध्येका ती नराम्रा बानीलाई कसरि हटाउन सकिन्छ भन्ने विकल्प तयार गर्नुहोस् र हरेक दिन आफ्नो कुनै न कुनै एउटा नराम्रो बानी हटाउने प्रयास गर्नुहोस् ।

३. आफ्नो भविष्यको योजना मात्र नबनाउनुहोस् । तपाईंले भविष्यमा आफूलाई कुन स्थानमा देख्नुहुन्छ, त्यो स्पष्ट हुनुहोस् । यसो गर्दा तपाईंले आफ्नो स्थान हेर्नको लागि हरेक दिन केही नयाँ सिक्ने कोसिस गर्नुहुन्छ र त्यो सिकाइले तपाईंको व्यक्तित्वमा निखारता थप्दै जान्छ ।

४. आफ्ना कर्तव्यबाट पछि नहट्नुहोस् र सधै सजिलो तरिका मात्र पनि नअपनाउनुहोस् । आफ्नो कर्तव्य पूरा गर्ने र जोखिम मोल्ने बानीले तपाईंको क्षमतामा वृद्धि हुँदै जान्छ, आत्मविश्वास बढ्छ ।

५. भोलीको दिनको लागि गर्नुपर्ने कामको सूची बनाएर समय तालिका आज राती नै बनाउनुहोस् । यसरि बनाएको समय-तालिका अनुसार काम गर्दा तपाईंले राम्रोसंग काम गर्न त सक्नुहुन्छ नै, तपाईंलाई मानसिक तथा शारीरिक दबाब/ तनाव कम हुन्छ। साथै तपाईंले मानिसहरुबाट राम्रा प्रतिक्रिया समेत पाउन सक्नुहुन्छ ।

६. किताब पढ्ने बानी बसाल्नुहोस् । हरेक दिन केही पेज मात्र भए पनि पढ्दै जानुहोस् । किताबले तपाईंको सोंच्न सक्ने क्षमतामा वृद्धि गरिदिन्छ, ज्ञानको दायरा बढाउँछ र तपाईंमा सकारात्मक भावनाको समेत विकास हुन्छ।

७. सोंचेर बस्ने बानी, निदाएर सपना देख्ने बानी छोड्नुहोस् । तपाईंले जे सोंच्नुहुन्छ, जे सपना देख्नुहुन्छ, त्यसलाई काममा परिणत गरिहाल्नुहोस्। जति आफ्नो सोंचलाई काममा परिणत गर्नुहुन्छ, तपाईंको व्यक्तित्वमा पनि त्यति नै निखारता आउंदै जान्छ ।

८.अरुको अगाडी बोल्न। आफ्ना विचार राख्न लाग्ने डरलाई निरन्तर अभ्यास गरेर कम गर्नुहोस् । विगतका कुरामा अल्झिएर नबस्नुहोस्, जीवन सिकाइको एक प्रक्रिया हो भन्ने बुझ्नुहोस् ।

९. तपाईंलाई प्रेरणा दिने व्यक्तिहरुको जीवनीहरु थाहा पाउनुहोस्। सफलता हासिल गरेका व्यक्तिहरुको विगत बारे जान्नुहोस् । तपाईंले उनीहरुका असफलताका भोगाइ, उनीहरुका विचार, सफलता प्राप्त गरेका बाटा आदिबाट धेरै कुरा सिक्न सक्नुहुन्छ र तपाईंको जीवनमा , उनीहरुले भोगेको जस्तो असफलता र उनीहरुले गरेका जस्ता केही गल्तीको सम्भावना कम हुँदै जान्छ ।

१०. कुनै एउटा काममा सफलता प्राप्त गर्नुभयो भने, त्यहि काम गरिनराख्नुहोस्। अगाडी बढ्नुहोस्, काममा केही नयाँपन ल्याउनुहोस् या आफ्नो लागि अबको अर्को लक्ष्य बनाउनुहोस् ।

११. पहिरन छनोट गर्दा अरुले के लगाएको छ भनेर नहेर्नुहोस् । आफूलाई कस्तो पहिरन राम्रो देखिन्छ, कस्तो पहिरन सजिलो लाग्छ र त्यो पहिरन लगाएर तपाईं कस्ता व्यक्तिहरुको अगाडी, कस्तो कार्यक्रममा सरिक हुँदै हुनुहुन्छ, त्यस अनुसार पहिरन छनोट गर्नुहोस् ।

१२. शारीरिक सरसफाईमा ध्यान दिनुहोस् र आफ्नो व्यक्तिगत हेरचाहको लागि पनि समय निकाल्नुहोस् । यसो गर्नाले तपाईंले आफूलाई माया गर्न थाल्नुहुन्छ र अरु व्यक्तिहरुको अगाडी उभिंदा तपाईं आकर्षक त देखिनुहुन्छ नै, तपाईं आफैमा पनि आत्मविश्वास बढ्छ ।

१३. शारीरिक हाउभाउमा ध्यान दिनुहोस् । तपाईंको बोली र योग्यता भन्दा धेरै मानिसहरुले तपाईंको शारीरिक हाउभाउलाई बढी पढिरहेका हुन्छन्। शारीरिक हाउभाउले नै व्यक्ति कति सभ्य छ भनेर बुझ्न सकिने हुनाले शारीरिक हाउभाउ सम्बन्धि सजग रहनुहोस् ।

१४. सबैलाई सम्मानजनक व्यवहार गर्नुहोस् । अरुलाई सम्मानजनक व्यवहार गर्दा तपाईं तल पर्नुहुन्न, बर तपाईंको व्यक्तित्व उच्च देखिन्छ । र, नकारात्मक सोंच राख्ने व्यक्तिहरुबाट सकेसम्म टाढै बस्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोला

error: Content is protected !!